काठमाडौं । आगामी मंसिरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने लगभग पक्का भएको छ । खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरमा दशौं राष्ट्रिय खेलकुद हुन नसक्ने प्रस्ट पारेका छन् ।
सप्तरीको राजविराज पुगेका मन्त्री चौधरीले पूर्वाधारको कारण देखाउँदै दशौं राष्ट्रिय पूर्व निर्धारित मितिमा हुन नसक्ने बताए । उनले प्रतियोगिता आागमी फागुन महिनासम्म हुन सक्ने बताएका छन् ।
कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ देखि ७ गतेसम्म सञ्चालन गर्ने घोषणा गरिएको थियो । तर सरकार परिवर्तन भएसँगै प्रतियोगिता निर्धारित समय भन्दा पछि धकेलिने प्रस्ट देखिएको छ ।
सरकारले प्रतियोगिताका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेट समेत दिएको छ । तर पूर्वाधारलाई कारण देखाउँदै नयाँ मन्त्रीले प्रतियोगिता सार्ने निश्चित गरेका हुन् ।
‘पूर्वाधार निर्माण गर्ने क्रम चलिरहेकाले अब आगामी फागुनमा दशौं राष्ट्रिय खेलकुद गर्छौ । फागुनमा चिसो कम हुने भएकाले त्यही बेला राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौं ।’ उनले भनेका छन् ।
कर्णालीको पछिल्लो स्थलगत भ्रमणका क्रममा उनले तयारी प्रतिवेदनका आधारमा निर्णय गर्ने बताएका थिए । त्यसपछि उनले औपचारिक रुपमा प्रतियोगिता सार्ने विषयमा बोलेका थिएनन् । सोमबार औपचारिक रुपमा उनले राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा धारणा बाहिर ल्याएका हुन् ।