धादिङ। छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्।
नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगितामा तीन पटकका पूर्वनेपाल च्याम्पियन बद्रीलालले ७ चरणको खेलबाट ६ अंक जोडेर उपाधि हात पारेका हुन्।
जितसँगै उनले ४० हजार रुपैयाँ प्राप्त गरे। बद्रीले २१२४ रेटिङ पर्फोम गर्दै व्यक्तिगत २८ रेटिङसमेत वृद्धि गर्न सफल भएका छन्।
१९३७ रेटेड बद्रीलालले आफ्ना पाँच जना प्रतिद्वन्द्वीविरुद्ध जित हासिल गरेका थिए भने पूर्वनेपाल च्याम्पियनद्वय सिएम नवीन तण्डुकार, एफएम बिलमलाल श्रेष्ठसँग बराबरी खेलेका थिए।
नवीन ५.५ अंक जोडेर दोस्रो भए। १८६६ रेटेड नविनले पाँच खेलमा जित र एक बराबर खेलेका थिए। काठमाडौंका नविनले दोस्रो स्थानमा रहँदै नगद २० हजार प्राप्त गरे।
लामो समय पछि चेस खेलमा पुनरागमन गरेका बिलमलाल तेस्रो स्थानमा उभिन सफल भएका छन्। ललितपुरका १९८७ रेटेडले डाइरेक्ट इन्काउन्टर, बुचोल्ज टाई ब्रेक गेम पोइन्ट कट वान र कट टु , मोस्ट विन ब्लाकका आधारमा ५ अंक जोडेर तेस्रो भएका हुन्। उनले १५ हजार प्राप्त गरे।