पथरी। पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको शोकमा गृहनगर पथरीशनिश्चरेले एक दिने बिदा घोषणा गरेको छ।
बुधबार ह्रदयघातका कारण उनकाे निधन भएकाे थियाे। शनिबार पथरीशनिश्चरेमा उनकाे पार्थिक शरिरकाे अन्त्यष्टि गरिन लागेको हो। शनिबार बिहान नगरपालिका कार्यालय पथरीमा श्रद्धाञ्जलीका लागि राईको पार्थिक शरिरलाई राखिने छ।
दिउँसोसम्म श्रद्धाञ्जली गरिने र पथरीखोला उत्तर जंगलमा किराँती संस्कार अनुरुप अन्तिम दाहसंस्कार गरिने परिवारजनले जनाएको छ।
नगरपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै राईको शोकमा आइतबार नगरभित्र स्थानीय बिदा दिने घोषणा गरेको छ। नगर प्रवक्ता नवीन कार्कीका अनुसार राईलाई नगरले उच्च सम्मान गर्दै शनिबार श्रद्धाञ्जली सभा र आइतबार बिदा दिने निर्णय गरेको हो।
गत शनिबार मात्र उनले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका थिए। राईको शब शनिबार मात्रै पथरी ल्याईपुर्याइने भएको छ। राईले मिस्टर काठमाडौं प्रतियोगितामा ७५ केजीभन्दा माथिको तौलसमूहमा स्वर्ण जितेका थिए।