काठमाडौं। बायर्न म्युनिखले आइतबार भिएफएल वोल्फ्सबर्गसँग खेल्दै बुन्डेसलिगाको नयाँ सिजन सुरुआत गर्नेछ। यही खेलमार्फत नयाँ प्रशिक्षक भिन्सेन्ट कोम्पनीले क्लबलाई जर्मन फुटबलको शीर्ष स्थानमा फर्काउने लक्ष्य राखेका छन्।
कीर्तिमानी जर्मन च्याम्पियन र देशको सबैभन्दा धनी क्लब बायर्नलाई गत सिजन बायर लेभरकुजेनले पछि पार्दै पहिलोपल्ट बुन्डेसलिगा जितेको थियो। लेभरकुजेन त्यस्तो क्लब रह्यो जसले अपराजित रहँदै घरेलु लिग र सुपर कप उचाल्यो।
डगआउटमा थोमस टुचेलको स्थानमा भित्रिएका बेल्जियमका पूर्वअन्तर्राष्ट्रिय खेलाडी कोम्पनीले बायर्नको वरीयतामा सुधार ल्याउन र आफ्ना खेलाडीमा आत्मविश्वास जगाउन काम गरिरहेका छन्।
बायर्न र जर्मनीका पूर्वकप्तान लोथर म्याथियसले यसै साताको सुरुमा अन्तर्राष्ट्रिय मिडियाको राउन्ड टेबलमा भनेका थिए, ‘गत वर्ष टोलीमा समान गुण थियो। तर, प्रशिक्षक र खेलाडीबीचको संवाद सही थिएन। बायर्नको अर्थ हामी एक परिवार हौं भन्ने हो। कोम्पनी प्रशिक्षक हुन् जसले टोलीमा त्यो वातावरण फिर्ता ल्याउन सक्दछन्।’
बायर्नले क्रिस्टल प्यालेसबाट विंगर माइकल ओलिसे र फुलह्यामबाट डिफेन्सिभ मिडिफिल्डर जोआओ पाल्हिन्हालाई भित्र्याउन करिब १० ० मिलियन युरो (१ मिलियन डलर) खर्चेको छ।
तर, लेभरकुसेनले आफ्नो टोलीलाई अक्षुण्ण राख्दै प्रशिक्षक जाबी अलोन्सोलाई यथावत् राखेको छ। जर्मन सुपर कपमा भिएफबी स्टुटगार्टविरुद्ध पेनाल्टी सुटआउटमा उपाधि जित्नुअघि लेभरकुजेनले बराबरी खेलेको थियो।
‘यो सिजन बायर्नको तुलनामा लेभरकुजेनलाई दबाब कम छ। उसलाई जित्नुपर्छ भन्ने छैन । बायर्नलाई पछिल्ला दुई सिजनपछि जित्नैपर्ने मात्र होइन, प्रदर्शन पनि राम्रो गर्नुपर्ने छ । त्यो दबाब हो,’ म्याथियसले भने।
बोरुसिया मोइन्चेनग्लाडबाखमा शुक्रबार हुने खेलबाट लेभरकुजेननले बुन्डेसलिगा सिजनको औपचारिक सुरुआत गर्नेछ।