रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं। बागमती प्रदेशका रिक्शन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा यस वर्ष नेपाल आइटिएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल आइटिएफ तेक्वान्दो महासंघले आफ्नो २७औं वार्षिकोत्सवका अवसरमा यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसँगै प्रशिक्षक र जिल्लालाई पुरस्कृत गरेको हो।
कोशीकी सजिना तामाङ यस वर्षको उदीयमान खेलाडीका रूपमा पुरस्कृत भइन्। महासंघले आफ्नो २७औं स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि पनि गरेको थियो। यस अवसरमा महासंघले मानव सेवा आश्रममा खाना खुवाउने, रक्तदान गर्ने र सरसफाइलगायत गतिविधि गरेको महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए।
महासंघले अन्तिम दिने भने वर्षभर उत्कृष्ट योगदान दिने खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई पुरस्कृत गरेको हो। यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुम्बिनीका कृष्ण थापामगरले प्राप्त गरे। महासंघले उदीयमान प्रशिक्षकका रूपमा मनोज पुलामी मगरलाई पुरस्कृत गरेको छ।
उत्कृष्ट प्रदेश लुम्बिनी र उत्कृष्ट जिल्ला काठमाडौंले प्राप्त गर्यो। अवार्ड प्राप्त गर्ने खेलाडीलाई नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्य अञ्जन धमला र महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पुरस्कृत गरेका थिए।
महासंघका अध्यक्ष कार्कीले खेलकुदसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्य गर्दै आएको बताए। साथै लामो समयदेखि विभिन्न भूमिकाबाट आइटिएफ तेक्वान्दोको विकासमा योगदान दिँदै आएका तेक्वान्दोकर्मीलाई थप प्रोत्साहित गर्न सम्मान गरिँदै आएको कार्की भनाइ छ।
सो अवसरमा मन्त्री गुरुङले खेल क्षेत्रको विकासको लागि पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए। खेलकुद क्षेत्रको विकासका लागि सरकारले कम प्राथमिकतामा राखेको मन्त्री गुरुङको भनाइ थियो। खेलक्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको उल्लेख गर्दै उनले खेलमा भएका बेथिति र राजनीतिकरणको अन्त्य गर्नुपर्ने धारणा राखे।








-1753017726.jpeg&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





