काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन्।
सिड्नीको होमबसमा सम्पन्न न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट पाँच नेपाली खेलाडी छनोट भएका हुन्। १३औं सागका कांस्य विजेता शिशिर श्रेष्ठसहित चन्दु शाही, पारस भण्डारी, मनोज श्रेष्ठ र सन्जिला तिमिल्सिना छनोट भए। व्यक्तिगत पुम्से चौथो डानतर्फ शिशिर कांस्य पदक जित्न सफल भए। स्टेट च्याम्पियनसिपमा शीर्ष तीन स्थानका खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँछन्।
चन्दु र सञ्जिला महिला व्यक्तिगत पुम्से तेस्रो डानतर्फ छनोट भए। चन्दुले कांस्य र सञ्जिलाले रजत पदक जिते। पारस पुरुष व्यक्तिगत पुम्से (तेस्रो डान) तर्फ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए। उनी यस विधामा रजत जित्न सफल भए। यसै विधामा दोस्रो डानतर्फ प्रतिस्पर्धा गरेका मनोज श्रेष्ठ भने स्वर्ण जित्दै छनोट भए। सबैले ट्रेडिसनल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए। यस च्याम्पियनसिपमा विभिन्न देशका करिब आठ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।