पेरिस। सन् २०२२ मा क्रेमलिन फौजले आक्रमण गरेपछि युक्रेनले पेरिस ओलम्पिक २०२४ मा रुस र बेलारुसका खेलाडीको संख्या घटाउने अभियान सुरु गरेको थियो।
पेरिसमा ओलम्पिक सुरु नहुञ्जेलसम्म युक्रेनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)लाई दबाब दिइरह्यो। त्यो दबाब केही हदसम्म सफल भएको छ।
रुसका १५ खेलाडीले मात्र पेरिस ओलम्पिकमा सहभागिता जनाएका छन्। यद्यपि, ती खेलाडीले आधिकारिक रूपमा रुसको प्रतिनिधित्व भने गर्ने छैनन्। युक्रेनमा जारी युद्धका कारण रुस र छिमेकी बेलारुसलाई राष्ट्रिय टोली पठाउन प्रतिबन्ध लगाइएको थियो। बेलारुस मस्कोको मुख्य सहयोगी राष्ट्र हो।
त्यसैले ती देशबाट सहभागी हुने अनुमति पाएका खेलाडीहरूले तटस्थ हैसियतमा प्रतिस्पर्धा गरिरहेका छन्, जसमा टेनिस स्टार डानिल मेदभेदेव पनि एक हुन्। उनले सन् २०२१ मा युएस ओपन जितेका थिए।
युक्रेनको ओलम्पिक प्रतिनिधिमण्डलका प्रमुख भादिम गुत्सैत यसलाई आफ्नो जित ठान्छन्। उनी भन्छन्, ‘युद्धको समयमा अन्तर्राष्ट्रिय जगतमा उनीहरूलाई कुनै स्थान छैन। हरेक दिन हाम्रा मान्छे, महिला र केटाकेटीहरू मारिएका छन्। हामीमाथि हरेक दिन रुसले बम बारी गर्छन् र क्षेप्यास्त्रहरू हाम्रो आकाशमा उडिरहेका हुन्छन्। यो केही पनि होइन। यो एक जित हो।’
रुसी पत्रपत्रिकाले पेरिस ओलम्पिकबारे नकारात्मक प्रचारप्रसार गरिरहेका छन्। पेरिसमा अपराध बढेको र सहरभरि राखिएको ब्यारिकेड्सले असुविधा पैदा गरेको भन्दै ठूला हेडलाइनमा समाचार प्रकाशित गरिरहेका छन्। रुसको सरकारी टिभी च्यानलले कुनै ओलम्पिकका खेलहरू प्रसारण गरेको छैन।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ र विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभा दुवैले ओलम्पिक उद्घाटन समारोहमा समुदायले प्रदर्शन गरेको भन्दै आलोचना गरेका छन्। वर्षाका बीच उद्घाटन समारोह आयोजना गरेको र सेन नदीको सरसफाइ नगरेको भन्दै जाखारोभाले थप आलोचना गरे।
आइओसीले तोकेर खेलाडी पठाउन भनेको भन्दै रुसले कुस्ती र जुडोलगायत केही खेलमा आफ्ना खेलाडी पठाउन अस्वीकार गरेको थियो। रसियाली कुस्ती महासंघले कुन रेस्लरलाई आमन्त्रण गर्ने भन्ने निर्णय आइओसीमा नरहेको भन्दै विरोध गरेको थियो।
सन् २०२१ मा आयोजित टोकियो ओलम्पिकमा रुसका ३०० भन्दा बढी खेलाडीले डोपिङ स्क्यान्डलका कारण आरओसी (रुसी ओलम्पिक कमिटी) नामबाट सहभागिता जनाएका थिए। यद्यपि, आरओसी ७१ पदक जित्न सफल भयो।
सन् २०२२ को अन्त्यमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण गरेको थियो। जाडोयाममा ऊर्जा पूर्वधार ध्वस्त हुँदा लामो समय युक्रेनमा लामो समय लोडसेडिङ भयो। कयौं घन्टा य्रुकेनी जनताले अँध्यारोमा बिताए। पूर्वी सहर बखमुतले सबैभन्दा कठिन युद्ध सामना गर्नुपर्यो। जुन वसन्त ऋतुमा रूसी सेनाले कब्जा गर्नुअघि भग्नावशेषमा परिणत भएको सहरमध्ये एक थियो।
डिसेम्बर २०२२ मा गुत्सैतले रुसी र बेलारुसी खेलाडीहरूलाई पेरिस ओलम्पिकमा भाग लिन अनुमति दिनसक्ने संकेतहरू देख्न थाले। युक्रेनी अधिकारीहरूले रुसी खेलाडीहरूलाई विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामध्येको एक ओलम्पिकमा प्रतिस्पर्धा गर्न दिनु अस्वीकार्य रहेको निष्कर्ष निकाले। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले तुरुन्तै गुत्सैतलाई बोलाएर आवश्यक कदम चाल्न निर्देशन दिए।
गुत्सैतले राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधिहरूसँग छलफल गरे। आइओसीलाई पत्र लेखे र युक्रेनको खेलकुदमन्त्रीले अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा समेत रुसी खेलाडीलाई ओलम्पिकमा भाग लिन दिन नहुने कुरा उठाए।
युक्रेनले रुसी र बेलारुसका खेलाडीले तटस्थ झन्डामुनि प्रतिस्पर्धा गरेमा पेरिस ओलम्पिक बहिष्कार गर्ने घोषणा गरेको थियो। गुत्सैतले भने, ‘यो निकै कठिन काम थियो। हरेक दिन हामीलाई समर्थन गर्ने र नगर्ने भन्ने प्रतिक्रिया प्राप्त हुन्थ्यो। हामीले ओलम्पिक बहिष्कार गर्ने निर्णय गरेपछि विश्वव्यापी ध्यान आकर्षित भयो र यो युक्रेनको रणनीति सफल भयो।’
पेरिस ओलम्पिकका लागि आइओसीले रुसी खेलाडीहरूलाई छनोट हुनका लागि विशेष मापदण्ड तय गरेको थियो। युद्धले युक्रेनको ओलम्पिक सहभागितालाई पनि प्रभावित गरेको छ, जुन टोली सोभियत संघको पतनबाट उदाएको पावरहाउसमध्ये एक थियो।
ग्रीष्मकालीन खेलको इतिहासमा यसपल्ट युक्रेनले सबैभन्दा सानो प्रतिनिधिमण्डल पेरिस पठाएको छ। यसपल्ट २६ खेलमा युक्रेनका १४० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। यसको मुख्य कारण भनेकै युद्ध रहेको उनी बताउँछन्।
पेरिसमा रहँदा गुत्सैत खेलाडीलाई हौसला दिन हरेक दिन प्रतियोगिता भइरहेको स्थानमा पुग्छन्। तर, युक्रेनी खेलाडीहरूले युद्धको त्यो काहालीलाग्दो अनुभवलाई भने बिर्सन सकेका छैनन्। सायद सेन नदीमा शुक्रबारको उद्घाटन समारोहले अझ त्यो अनुभवलाई स्मरणीय बनाइदियो।
पहेँलो र निलो रङको पहिरनमा राष्ट्रिय झन्डासहित डुंगामा यात्रा गरिरहँदा उद्घाटन समारोह हेर्न पुगेका दर्शकहरूले उठेर तालि बजाएका थिए। ‘हाम्रो प्रयास फलदायी रह्यो। दर्शकहरूले उठेर ताली बजाएर हामीलाई स्वागत गरे,’ उनी दंग हुँदै सुनाउँछन्। ओलम्पिकमा आफ्नो राष्ट्रको लक्ष्य विश्वलाई अझै युक्रेन बाँचिरहेको छ भन्ने कुरा सम्झाउनु रहेको उनी बताउँछन्।