काठमाडौं। नेपाल तेक्वान्दो संघको आयोजनामा माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आगामी कार्तिकमा हुने भएको छ।
विश्व तेक्वान्दोको जि १ मान्यता प्राप्त प्रतियोगिता कार्तिक २३ देखि २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ।
प्रतियोगिताको यो चौथो संस्करण हो। यसअघि सन् २०११ र १३ मा काठमाडौं तथा २०२२ मा पोखरामा प्रतियोगिता गरिएको थियो।
प्रतियोगितामा २५ देशका करिब २००० खेलाडी सहभागिता जनाउने संघले जनाएको छ। प्रतियोगितामा क्याडेट, पुम्से जुनियर र सिनियर तथा क्योरोगी जुनियर र सिनियर विधा समावेश गरिएको छ।