काठमाडौं। बलियो टोली भारतसँग ८२ रनको हार बेहोर्दै नेपालले एसिसी महिला एसिया कपको यात्रा टुंग्याएको छ। ग्रुप चरणबाट नै बाहिरिए पनि यस प्रतियोगिताले महिला क्रिकेटमा रहेको प्रचुर सम्भावनाको उजागर गरेको छ।
नेपालले यसअघि सन् २०१२ र २०१६ को एसिया कप खेलिसकेको थियो। दुवै संस्करण गरी आठ खेल खेलेको नेपाल जितविहीन थियो। २०१२ को संस्करणमा बंगलादेश र चीनसँग पराजित हुँदा नेपालले बनाएको उच्च स्कोर ५८ रन थियो, त्यो नि श्रीलंकाविरुद्ध।
त्यसै गरी राउन्ड रोबिनमा सम्पन्न २०१६ एसिया कपमा नेपाली महिला टोली भारत, पाकिस्तान, थाइल्यान्ड, श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो। थाइल्यान्डसँग ६३ रन नेपालले त्यस संस्करणमा बनाएको उच्च स्कोर थियो।
मिथाली राज , हरमनप्रित कौर, झुलन गोस्वामी र स्मृति मन्धानासम्मिलित भारतीय टोलीसँग त नेपाल २१ रनमा नै समेटिएको थियो। आठ वर्षको अवधिमा महिला क्रिकेट बिस्तारै सबैको नजरमा माथि उठ्दै गएको छ र लगानी पनि बढ्न थालेको छ। क्रिकेटका शक्ति राष्ट्रहरूको प्राथमिकतामा पर्न थालेपछि महिला क्रिकेटको मुहार फेरिन थालेको छ।
श्रीलंकामा आयोजित एसिया कपका लागि नेपालले करिब दुई महिना बन्द प्रशिक्षण गरेको थियो। महिला क्रिकेट टिमले सायदै यती केन्द्रित भएर तयारी गर्ने मौका पाएको थियो।
एसिया कपमा नेपालले सुरुआती खेलमै युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो। यस जितका लागि नेपालले तीन संस्करण र आठ खेल कुर्नुपरेको थियो।
युएईविरुद्धको खेलअघि एसिया कपमा नेपालको तर्फबाट व्यक्तिगत उच्च स्कोर ज्योति पाण्डेको १६ रन थियो। पहिलो खेलमै सम्झना खड्काले अविस्मरणीय अविजित ७२ रनको इनिङ्स खेलेकी थिइन्। सम्झनाको इनिङ्स कैयौँ तरिकाबाट नेपाली महिला क्रिकेटका लागि कोसेढुंगा साबित हुन सक्छ।
११ चौका प्रहार गर्दा सम्झना विरलै असहज देखिइन्। नेपाली क्रिकेट इतिहासमै ठूलो र महत्त्वपूर्ण प्रतियोगितामा सायदै यस्तो शक्तिशाली इनिङ्स खेलिएको थियो। पाकिस्तानसँगको दोस्रो खेलमा कविता जोशीले ३१ रन प्रहार गरेकी थिइन्। सीता रानामगर र पूजा महतोले क्रमशः २६ र २५ रनले साथ दिएपछि नेपालले १०८ रनको सम्मानजनक योगफल तयार पारेको थियो।
अन्तिम खेलमा भारतविरुद्ध १७९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ९६ रन बनाएको थियो। सम्झना खड्का, सीता रानामगर, पूजा महतो, कविता जोशी र कविता कुँवरजस्ता खेलाडीहरूको ब्याटबाट रन बन्नुका साथै केही उत्कृष्ट सटहरू प्रहार भएका थिए। बलिङमा भने नेपाल फितलो देखियो।
भारत र पाकिस्तानका खेलाडीले निर्धक्कसँग रन बनाउँदा नेपाली टिमले रोक्न सकेन। फिल्डिङ भने बिर्सनलायक रह्यो। निरन्तर अनुभव बटुल्दै जाँदा यी कमजोरीहरू पनि पूर्ति हुँदै जान्छन्।
समग्रमा नेपाली महिला टोलीको एसिया कप यात्रा सुखद रह्यो। नेपालले आगामी दशक धान्न सक्ने खेलाडीहरू जन्माएको छ। सीता रानामगर र रुबिना क्षेत्रीबाहेक सबै खेलाडी ३० वर्ष मुनिका छन्।
सन् २०३० को महिला विश्वकप १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। हाल २१औँ वरीयतामा रहेको नेपालले २०३० लाई मध्यनजर गरेर अगाडि बढ्ने हो भने विश्व कप टाढा छैन।