काठमाडौँ। चौथो एशियाली पारा खेलकुदमा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट १३ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छन्।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रीपरिषद्ले बिहीबार अनुमोदन गरेसँगै उनले उक्त रकम प्राप्त गर्ने भएकी हुन्। उनले गत कार्तिकमा चीनको होन्झाउ भएको चौथो पारा एशियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्। नेपालले पारा एशियाली खेलकुदमा पदक जितेको यो नै पहिलो पटक थियो।
पलेशाले महिला ५७ केजी मुनि के ४४ मा कांस्य जितेकी हुन्। उनले क्वार्टरफाइनलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गरेकी थिइन्।
सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी डोसमालोभा कामिलियासँग १६–१० ले पराजित भएकी थिइन्। उनीबाहेक मुख्य प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्। टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।