काठमाडौं । आयोजक चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम चन्द्रागिरी राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । १६ स्वर्ण, १२ रजत र ११ कांस्यसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बनेको हो ।
दोश्रो भएको कोटेश्वर तेक्वान्दो डोजाङले ९ स्वर्ण, २ रजत र १३ कांस्य जित्यो । तेश्रो स्थानको नेसनल तेक्वान्दो एकेडेमी एनटीएले ४ स्वर्ण, ५ रजत र ३ कांस्य प्राप्त गर्यो । शीर्ष तीन हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपमा भएको प्रतियोगिताको पुरुषमा आयोजकका राम शाही तथा महिलामा एनटीएकी रोशनी तितुङ उत्कृष्ट खेलाडी घोषित भए । अर्योन योगी उत्कृष्ट निर्णायक तथा आयोजकका विवेक महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे । रिब्सले अनुशासित टिमको उपाधि हात पार्यो ।
विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।
दुईदिने प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथि नेकपाका महासचिव विप्लव सीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता आयोजक डोजाङकी अध्यक्ष सन्तोषी महर्जन सीले गरेकी थिइन् ।
प्रतियोगितामा विभिन्न २७ जिल्लाका ५ सयभन्दा बढी खेलाडीले ३९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक एवं आयोजक डोजाङका प्रमुख सुवास तामाङले जनाएका छन् ।