बुटवल। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जेठ ३ गते हाफ म्याराथन आयोजना गर्ने भएको छ। गत वर्ष गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन सम्पन्न गरेको एकेडेमीले यस पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो।
सबैका लागि खेलकुद भन्ने नाराका साथ बालकदेखि वृद्धासम्मको दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी गराए।
२१ किलोमिटरको हाफ म्याराथन प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिन पाउने उनले बताए। त्यस्तै, १० किलोमिटर कलेजस्तरीय र ५ किलोमिटरको विद्यालयस्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ। ६० वर्षमाथिका ज्येष्ठ नागरिकको लागि वाकाथन प्रतियोगिता पनि राखिएको खेल संयोजक मोहन घलेले जानकारी दिए।
हाफ म्याराथनको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौँ २० हजार र छैटौँ १० हजार रहेको छ। १० किलोमिटर दौडको प्रथम पुरस्कार ३५ हजार, द्वितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथो १० हजार र पाँचौँ र छैटौँको क्रमशः ७ हजार र ५ हजार रहेको छ।
छात्रमा शीर्ष ६ स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन्। छात्रामा शीर्ष छ स्थानमा रहनेले क्रमशः १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको तयारी तीव्र पारिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए।
एकेडेमीले कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई २ वर्षका लागि औषधि खर्चबापत रकम पनि सोही अवसरमा प्रदान गर्ने अध्यक्ष आचार्यले जानकारी दिए।