बागलुङ। मधेश प्रदेशका सुवाश तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन भएका छन्।
बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न फाइनलमा जित निकाल्दै सुवाश पुरुषमा र निकिता महिलातर्फ प्रोफेसनल फाइटमा च्याम्पियन भएका हुन्। यससँगै दुवै ५० हजार रुपैयाँसहित ट्रफी र पदक हात पारे। बागलुङ जिल्ला आइटीएफ तेक्वान्दो संघको आयोजनामा भएको दुई दिने प्रतियोगिताको पुरुषतर्फ फाइनलमा सुवासले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसका श्रीप्रसाद बूढालाई हराए।
श्रीप्रसादले ३० हजार रुपैयाँसहित पदक प्राप्त गरे। आर्मीका अनिल तामाङ तेस्रो भए। उनले तेस्रो स्थानका लागि भएको खेलमा बागमतीका रिकसान वाइबा तामाङ हराए।
तेस्रो स्थानका अनिलले २० हजार रुपैयाँ र पदक पाए। महिलातर्फ फाइनलमा निकिताले कोशी प्रदेशकी सजिना तामाङलाई पराजित गरिन्। सजिनाले ३० हजार रुपैयाँसहित पदक पाइन्। महिलामा कोशीकी कुसुम राजवंशीले तेस्रो हुँदै २० हजार रुपैयाँ प्राप्त गरिन्। उनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मीकी सचिना सुनुवारलाई हराइन्। महिलातर्फ ५०–५७ केजी तौलसमूहमा तीन विभागीयसहित सात प्रदेश र आयोजकका गरी कुल २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
पुरुषमा भने ५५–६२ केजी तौलसमूहका कुल २२ खेलाडीले चुनौती प्रस्तुत गरेका थिए।