काठमाडौँ। नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा अगस्टमा फ्रान्समा हुने पेरिस प्यारालिम्पिकको तयारीका लागि आइतबार नेपाल आएकी छन्।
एयर चाइना विमानबाट पलेशा बिहान ११ः०५ बजे नेपाल अवतरण गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।
गत चैत ४ गते चीनको ताईयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस प्यारालिम्पिकका छनोट भएकी थिइन्।
छनोट चरण पार गरेर प्यारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली पारा खेलाडी बनेकी छन्। समग्रमा भने पलेशा तेस्रो खेलाडी हुन्।
यसअघि तेक्वान्दोकै संगीना वैद्यले २००४ को एथेन्स तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेलेका थिए। पलेशाले सोमबारदेखि प्रशिक्षण शुरू गर्ने प्रशिक्षक लामाले जानकारी दिए।
पलेशा चीनको सांघाईंस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेकी थिइन्। तयारी प्रशिक्षणकै लागि पलेशा साँघाईंबाट नेपाल आएकी हुन्।