जुम्ला। जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाका धीरबहादुर बूढा र खोटाङकी प्रिया राईले जितेका छन्।
पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका विराटका धीरले उपाधि जितेका हुन्। धीरले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी ४ घन्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरे।
पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर दोस्रो र शेरबहादुर बूढा तेस्रो भए। दलले निर्धारित दूरी ५ घन्टा १२ मिनेट ४० सेकेन्डमा पूरा गरे। सोही दूरी शेरबहादुरले ५ घन्टा १८ मिनेट ३५ सेकेन्डमा पार गरे।
महिलातर्फ सोही दूरी प्रियाले ६ घन्टा ७ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन्। जुम्लाकी राज्यलक्ष्मी रावल दोस्रो भइन्। उनले उक्त दूरी ६ घन्टा १५ मिनेट ९ सेकेन्डमा पूरा गरिन्। जुम्लाकै तिला गाउँपालिका अनिता बूढा उक्त दूरी ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा पूरा गर्दै तेस्रो भइन्।
म्याराथनमा प्रथम हुनेले १ लाख रुपैयाँ पाए। दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाए।