एन्फा अन्तरकलेज फुटसलमा २४ टोली
२०२४ अप्रिल ११, बिहिबारखेलपाटी संवाददाता

काठमाडौँ। एन्फा अन्तरकलेज फुटसल च्याम्पियनसिपमा २४ टोलीले सहभागिता जनाउने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आगामी बैशाख २२ देखि जेठ ५ गतेसम्म हुने प्रतियोगितामा प्लस टू र ब्याचलर अध्ययनरत विद्यार्थीहरूको २४ टिम सहभागी हुन लागेका हुन्।
सहभागी टिमलाई ८ समूहमा विभाजन गरिने एन्फाले जनाएको छ। यसो गर्दा हरेक समूहमा ३-३ टिम हुनेछन्। लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा हुने खेलहरू लिग कम नकआउटका आधारमा खेलाइनेछ।
प्रतियोगिताको विजेताले ५ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन्। मोस्ट भ्यालुएबल प्लेअरले ५०, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।