‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

काठमाडौं । ब्राजिल र अर्जेन्टिनाबीचको चिरपरिचित फुटबल प्रतिद्वन्द्वितालाई केही समयका लागि बिर्सिँदै ब्राजिलका पूर्व महान खेलाडी रिभाल्डोले लियोनल मेस्सीको खुलेर प्रशंसा गरेका छन्।
मंगलबार इजिप्टविरुद्ध अर्जेन्टिनाले २–० ले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को रोमाञ्चक जित निकालेर विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको थियो। सोही प्रदर्शनपछि रिभाल्डोले अर्जेन्टिना र मेस्सीको प्रशंसा गर्दै सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बधाई दिएका हुन्।
‘कस्तो साहस, कस्तो जित्ने इच्छाशक्ति, कस्तो संघर्ष र सबैको कस्तो समर्पण ! विश्वकपमा समर्थकहरूले मैदानमा हेर्न चाहने कुरा यही हो,’ २००२ का विश्वकप विजेता तथा बालोन डी’ओर विजेता रिभाल्डोले लेखेका छन्।
रिभाल्डोले आफ्नो सन्देशसँगै अन्तिम सिटीपछि मैदानमा भावुक देखिएका मेस्सीको तस्बिर पनि राखेका थिए। पहिलो हाफमा मोस्तफा शोबेइरले मेस्सीको पेनाल्टी बचाए पनि अर्जेन्टिनाका कप्तानले दोस्रो हाफमा टोलीलाई पुनः खेलमा फर्काएका थिए।
२-० ले पछि परेको अवस्थामा मेस्सीले ७९औं मिनेटमा क्रिस्टियन रोमेरोलाई गोलका लागि असिस्ट गरे। त्यसको चार मिनेटपछि मेस्सी आफैंले बराबरी गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए।
यो गोलसँगै मेस्सीको प्रतियोगितामा गोल संख्या आठ पुगेको छ। उनी गोल्डेन बुटको दौडमा एर्लिङ हालान्ड र किलियन एमबाप्पेभन्दा अघि पुगेका छन्।
‘लियो मेस्सीबारे कुरा गर्नु भनेको स्पष्ट कुरा दोहोर्याउनु जस्तै हो,’ रिभाल्डोले लेखेका छन्, ‘कस्तो खेलाडी ! ३९ वर्षको उमेरमा, छैटौं विश्वकप खेल्दै गर्दा पनि उनी अर्जेन्टिनाको जर्सीप्रति उस्तै जोश देखाइरहेका छन्उ-त्सव मनाउँदै, संघर्ष गर्दै, भावुक हुँदै र फेरि एकपटक फरक पार्दै।’
अर्जेन्टिनाका लागि निर्णायक गोल भने एन्जो फर्नान्डेजले स्टपेज टाइममा हेडमार्फत गरेका थिए। उनको गोलसँगै साविक विजेता अर्जेन्टिना अन्तिम आठमा प्रवेश गर्न सफल भयो।
यता ब्राजिल भने राउन्ड अफ १६ मा नर्वेसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ। तर, रिभाल्डोले फुटबलको सुन्दरता र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नुपर्ने बताएका छन्।
‘म ब्राजिलियन हुँ, म आफ्नो देशलाई माया गर्छु र सधैं हाम्रो राष्ट्रिय टोलीलाई समर्थन गर्नेछु,’ पूर्व बार्सिलोना स्टारले लेखेका छन्, ‘प्रतिद्वन्द्विता फुटबलको हिस्सा हो, तर म उत्कृष्ट खेल र मैदानमा सबैथोक दिने टोलीलाई चिन्न र सम्मान गर्न पनि जान्दछु।’
रिभाल्डोले अर्जेन्टिनाको प्रदर्शनलाई विश्वकपस्तरीय खेलको उदाहरण भन्दै बधाई दिएका छन्।
‘यस्ता खेलहरूले फुटबललाई अझ माथि उठाउँछन् र विश्वकपका लागि योग्य हुन्छन्। क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिनालाई बधाई,’ उनले लेखेका छन्।












