काठमाडौँ। चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ गते हुने भएको छ। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को सहयोगमा सो प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताका संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा देशभरका ६०० भन्दा बढी खेलाडीले सहभागिता जनाउने जानकारी दिए।
गेरोगीतर्फ सिनिअर पुरुष/महिलामा समान ६/६ गरी कुल १२ स्पर्धा र जुनिअरतर्फ पुरुष/महिलामा समान १०/१० गरी २० स्पर्धामा भिडन्त हुनेछन्। यसैगरी, पुम्सेको व्यक्तिगत, समूहगत र जोडीसहित १२ स्पर्धा समावेश गरिएको छ।
गेरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को छनोट पनि हो। यस प्रतियोगिताबाट ३ महिला र ३ पुरुष गरी छ खेलाडी इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा छनोट हुनेछन्। सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समूहमा विभाजनगरी पुनः प्रतिस्पर्धा गराइनेछ। जसमा विजयी हुनेले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्। दक्षिण कोरियाका लागि छनोट हुने सबै जनही ५० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गर्नेछन्। सो प्रतियोगिता आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सोलमा हुँदैछ।
यसैगरी, प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन्। त्यसैगरी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।