पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ। विश्व खेलकुद दिवशको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो।
अमरसिंह फुटसलमा शनिबार सम्पन्न फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टोलीले उपाधि जितेको हो। पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे।
अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १/१ गोलको योगदान दिए। संगीत समूहको तर्फबाट विश्वास गुरुङ र रवीन गुरुङले गोल गरेका थिए।
त्यसअघिको सेमिफाइनलमा पत्रकार मञ्चले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो। संगीत समूहले आयोजकलाई १३–३ गोलले हराउँदै फाइनल पुगेको थियो।