भैरहवा। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुँदै शुरू गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट हुने विश्वास व्यक्त गरेको छ।
सन् २०२२ मा पहिलोपटक लुम्बिनीमा अवस्थित विश्वशान्ति द्धिपबाट मायादेवी मन्दिरसम्म शुरू भएको वाकाथनलाई विस्तार गर्ने क्रममा गत वर्ष म्याराथन आयोजना भएको थियो। शनिबार लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको दोस्रो संस्करण आयोजना हुँदैछ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्त्व रहेको जनाउँदै खेलका माध्यमबाट पर्यटन एवं लुम्बिनीको प्रवर्द्धन हुने बताए।
‘यो म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट बन्ने सक्नेछ , अहिले सुरुवात हो पछि विश्वभरबाट प्रतिस्पर्धाका लागि आउनेछन्। लुम्बिनीको महत्वका कारण विश्वभरका म्याराथन धावकबीच लोकप्रिय हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने।
लुम्बिनी स्क्वायरबाट बिहान ६ बजे शुरू भएर भैरहवासम्म पुगेर पुन: लुम्बिनी स्क्वायर पुगेर म्याराथन सम्पन्न हुने एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए।
यस पटक पुरुष तर्फको म्याराथन विजेताले ५ लाख , दोस्रोले ३ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै पाँचौँले ८०, छैटौँले ६०, सातौँले ४०, आठौँले २०, नवौँले १० र दसौँले ५हजार रुपैयाँ प्राप्त गर्नेछन्।
महिला तर्फको हाफ म्याराथन विजेता २ लाख, दोस्रोले १ लाख ६० हजार र तेस्रो हुनेले १ लाख २० हजार रुपैयाँ पाउनेछन्। त्यसैगरी ५ किमीको महिला पुरुषको दौड र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ। ५ किमी र ३ किमी दुवै स्पर्धाका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।