काठमाडौँ। बेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा स्वर्ण जितेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा शनिबार सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा बेदबहादुर पुरुष तथा निर्मला महिलाको ५५ किलोमिटर दूरीमा पहिलो भएका हुन्।
पुरुषमा मनकुमार रोका मगर दोस्रो तथा गोपाल तामाङ तेस्रो भए। महिलामा छोकी शेर्पा दोस्रो भइन्। दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८० हजार, ३५ हजार र २० हजार नगद पुरस्कार पाए।
पुरुष २५ किलोमिटरमा अर्जुन कुलुङ राईले स्वर्ण, तिलकबहादुर सुनुवारले रजत र करण रावलले कांस्य जिते।
उक्त स्पर्धाको महिलामा प्रिया राई पहिलो, सुन्सरी रोकाय दोस्रो तथा हुमि बूढामगर तेस्रो बने। पुरुष/महिला दुवैमा पहिलो हुनेले ४५ हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार प्राप्त गरे।
पुरुष ५ किलोमिटर दौडमा अक्कलबहादुर पाल प्रथम, निरज भट्ट द्वितीय र सुवास कार्की तृतीय भए। सोही स्पर्धाको महिलामा सिर्जना पाण्डेय पहिलो, पद्माकुमारी सुनुवार दोस्रो र सोनिमा शेर्पा तेस्रो स्थानमा रहे। दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते।