रुपन्देही- ‘ए’ डिभिजन लिगको इतिहास धेरै लामो छैन, नेपालमा। त्यही लिग सँगसँगै शुरू भएको हो मोफसलमा खेलाडी उत्पादन गर्ने फुटबल पनि। इतिहासको पाना पल्टाउने हो भने शहिद स्मारक ‘ए’ लिग २०११ सालदेखि शुरू भएको हो। अझै पुरानो कालखण्डमा पुग्ने हो भने विसं १९३४ मा तत्कालीन प्रधानमन्त्री पद्यशमशेरले राम जानकी फुटबल प्रतियोगिता आयोजना गरेका थिए। फुटबल विकासको लागि तत्कालीन प्रधानमन्त्रीले चालेको कदम लिग बाहिरको फुटबल प्रतियोगिता थियो।
फुटबल खेलको प्रवर्द्धनमा यी दुई प्रतियोगिता निकै महत्त्वपूर्ण छन्। शहिद स्मारक प्रतियोगिता त खम्बा नै हो फुटबल प्रवर्द्धनमा। तर, पछिल्लो समय खेलमा हुने राजनीतिले अलमल र प्रभावमा पारेको छ, शहिद स्मारक लिग। ढल्न लागेको खम्बालाई भने मोफसलका फुटबल प्रतियोगिताले धानेको छ। मोफसलमा हुने प्रतियोगिताले नेपाली फुटबलको साख बचाइरहेको छ। यसले नेपाली फुटबलको सम्बोधन र प्रवर्द्धन गरिरहेको छ। एन्फा एकेडेमीबाट राष्ट्रिय टोलीमा खेलाडी आउने चलन शुरू भएको धेरै भएको छैन। एन्फाअघि मोफसलमा हुने प्रतियोगिताले नै नेपाली फुटबलको साख राम्रोसँग राखेको।
आलेख लेख्दै गर्दा फुटबल प्रेमीलाई रोचक प्रसंग सुनाउन चाहे। त्यो पनि फुटबल प्रेमीलाई फुटबल प्रेमीको रोमाञ्चक सानो किस्सा। मिति ठ्याक्कै याद भएन। सायद २०४० तिर हुनुपर्छ। घटना हो, तिलोत्तमाको। एक जना कृषक खेतमा काम गर्नका लागि बिहान घरबाट निस्किए। खेतमा काम गर्न गएको मान्छे साँझसम्म घर फर्किएनन्। परिवारमा होहल्ला मच्चियो। होहल्ला केही समयपछि कोलाहलमा बदलियो। खोजतलास गर्दा ती व्यक्तिको केही पत्तो भएन। अन्ततः परिवार र छिमेकीले उनको मृत्यु भएको ठहर गरे। किरिया बसे।
अचम्म त तब भयो। मर्यो भनेको व्यक्तिको १३औँ दिनको तिथिका दिन घरमा टुप्लुक्क आइपुग्यो। बुझ्दा उनी कुरुवा कप खेल्न पैदल पाल्पा पुगेछन्। प्रतियोगिता सकिएपछि उनी घरमा आइपुगेका थिए। यी प्रतिनिधि पात्र हुन्। थाहा छैन कति छन् नेपाली फुटबललाई माया गर्ने ती कृषक जस्ता पात्र। जो फुटबलका लागि सुधबुध गुमाउँछन् आफ्नो। केवल तल्लीन छन्, फुटबलको प्रेममा।
यो किस्सामा मुख्य कुरा नबिर्सौँ। चर्चा गरौँ मोफसलमा हुने फुटबल प्रतियोगिताको। प्रतियोगिताको गतिविधिको। काठमाडौँ बाहिर गराउने फुटबल प्रतियोगितालाई मोफसल प्रतियोगिता भनेर बुझौँ। शब्दमा केन्द्रीकृत मानसिकता झल्किएला। तर, यसको आशय र अर्थ यहाँ त्यसरी नबुझ्नु होला। यसलाई केवल प्रतियोगिता भनेर बुझ्दा अन्याय हुन जान्छ। किनकि यी यस्तै प्रतियोगिताले खेलाडी पहिचान गर्छ। गाउँमा वा देशको कुनै कुनामा फुटबलको हुटहुटी लिएर बसेको ठिटा ठिटीलाई राष्ट्रिय टोलीसम्म ल्याईपुर्याउने बाटो देखाउँछ।
केही मोफसलका फुटबल प्रतियोगिताका गतिविधि हेर्दा प्रस्टै देखिन्छ फुटबल प्रेमी र यसमा सक्रिय व्यक्तिले जेनतेन स्रोत साधन जोडेर प्रतियोगिता हाँकिरहेका छन्। यही मोफसलको फुटबल प्रतियोगितामा अर्को खेल शुरू भयो, प्रतिस्पर्धाको। जहाँ आफ्नो खेलमा वर्चस्व देखाउन, फुटबलमा हैसियत देखाउन वा फुटबलको राजनीतितर्फ ध्यान आकर्षण गराउनका लागि प्रतियोगिता प्रयोग भयो भनेर एकथरी परिभाषा दिन्थे, दिन्छन्। यही विवाद, आरोप–प्रत्यारोप र तर्क–वितर्कका साथ शुरू प्रतियोगिता निरन्तर चलिरह्यो।
प्रतियोगिता उँधो होइन उँभो लागि रह्यो। प्रतियोगिताको राशिमा बढोत्तरी, आधुनिक गतिविधिका साथ प्रतियोगिता चलिनै रह्यो। जेजस्तो विवाद वा आरोप होस् यी प्रतियोगिताको मुख्य उद्देश्य हो फुटबललाई चलायमान राख्नु र यसको प्रवर्द्धनमा सहयोग गर्नु।
यही फागुन र चैत महिनामा मात्र पाँचभन्दा बढी गोल्डकप आयोजना भएका छन्। यसमा आश्चर्य के भने क्लबका खेलाडी संख्याभन्दा बढी खेलाडी प्रतियोगितामा सहभागी हुँदै छन्। सबैलाई प्रश्न गर्दिन म। प्रतियोगितामा सहभागी हुने यी क्लबहरूमा खेलप्रति सद्भाव र सम्मान होला। यीबाट माथि उठेर हेर्ने हो भने यत्रा खेलाडी कहाँ र कसरी ? क्लबको हैसियत देखाउँदै प्रतियोगितामा पाउने भत्ताको लोभले हुनसक्छ। यसमा हुने जालझेललाई हामीले नजरअन्दाज गर्न मिल्दैन। क्लबमा एकदुई खेलाडी राखेर प्रतियोगिताका समयमा संख्या पुर्याउन स्थानीय युवा समावेश गराएर खेलाउन प्रवृत्ति छ। प्रतियोगिताको पहिलो खेल खेल्न। हारेको खण्डमा एकदिन अघि र एकदिन पछिको सिस्टमले भत्ता लिने। यसमा अर्को समस्या जितेमा हुन्छ।
मुख्य टिमबाट ४/५ खेलाडीलाई भित्र्याउँदै सोही प्रतियोगितामा सहभागिता जनाउने, हारे उही जिते यहीको सिस्टम फेरि लागु हुन्छ। तर मुख्य समस्या चाहिँ तब आउँछ जब कुनै दुई गोल्डकप र सम्भवतः उस्ता उस्तै पुरस्कार रकम र उस्तै सुविधा दिने प्रतियोगिताको फाइनलमा उक्त टोली पुग्छ। त्यो पनि एउटै तोकिएको मितिमा। यो समयमा ती क्लबका पदाधिकारीले सही सही बुझाउन सक्छन्। हुन त उनीहरू आफैँ ‘न ओकल्न मिल्ने, न निल्न’ अवस्थामा छन्।
अरू बेला खेलाडी आराम लगायत खेलाडीको हकहित मा बोल्ने र आन्दोलन गर्ने यी क्लबहरूले यो बेला खासै कुनै त्यस्तै अनावश्यक प्रश्न राख्दैनन् ? खेलाडीहरूले नि बुझेको छन्, अर्को फुटबल प्रतियोगिता र लिग हुने नहुने केही टुंगो छैन। यही बेला हो दिन दिनै र लगातार खेल खेलेर धन आर्जन गर्ने। उनीहरू यो चलन र प्रक्रियालाई एक आपसमा हाँसो मजाकको भाषामा ‘खेप’ भनेर बुझ्दछन्। अब प्रश्न एन्फालाई ?
मोफसलको केही प्रतियोगितालाई एन्फा क्यालेन्डरमा राखेर के कस्तो उपलब्धि रह्यो ? ती आयोजकले एन्फाबाट के कस्तो सहयोग पाए ? आफ्नो क्लबको हैसियत देखाउँदै भत्ता लिने तर खोज तलास खेलाडीको भरमा कुनै मोफसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्लबलाई के कस्तो पुरस्कार को व्यवस्था गरिएको छ ? सजायको प्रावधान त पक्कै छैन होला ? ‘एन्फा मोफसल प्रतियोगिता कमिटी’ को बेवास्ता कहिले सम्म लागु गर्ने ? यी र यस्ता प्रतियोगितालाई कसरी सघाउने भन्ने कुनै सोच छ, सम्बन्धित निकाय को ?
जसले मोफसलको फुटबललाई जोगाएर राखेको छ। जसले काठमाडौँ बाहिर फुटबललाई चलायमान बनाएको छ। जसले फुटबलमार्फत पूरा देशलाई जोडेको छ। ती आयोजकहरू एन्फा र क्लबबाट कहिलेसम्म ठगिरहने हो ?