ललितपुर । छैटौं संस्करणको तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनलमा पुग्ने क्रममा दोलखाले मकवानपुरमाथि २-५ र १-५ को जित हासिल गर्यो ।
जसमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल र कृष्ण थापाबीचको खेल बराबरीमा सकिएको थियो । त्यस्तै सुश्रुत दहाल सिन्देश्वर दाशसँग हारे भने मुहान नर्सिङ श्रेष्ठले सुदेन टुईटुईमाथि र सुजना लोहनीले अनुस्ना गौतममाथि जित हासिल गर्दै टिमलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान दिए ।
त्यसैगरी नकआउट चरणको दोश्रो खेलमा भक्तपुर जिल्ला बुद्धिचाल संघले र कोशी प्रदेश बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा दोलखासँगको भेट पक्का गरेको हो । सेमिफाइनल अन्तर्गत क्लासिकल चरण बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा भक्तपुर जित हासिल गर्न सफल भयो । जित निकाल्ने क्रममा भक्तपुर जिल्ला बुद्धिचाल संघले कोशी प्रदेशलाई टाईब्रेकरको चार वटै खेलमा पराजित गर्न सफल भयो ।
क्लासिकल चरणमा भक्तपुरका युवा खेलाडी पुरुतोत्तम सिलवाल र कोशीका प्रकाश चन्द्र नेपाल तथा भक्तपुरका स्वर्णिम दुवाल र कोशीका मिसन दहालबीचको खेल बराबरीमा सकियो । भक्तपुरका राजेश कक्षपती कोशीका सविन चन्द्र घिमिरेसँग पराजित हुन पुगे भने अभिक शाहले कोशीका कृतिशारा अधिकारीमाथि जित निकाल्दै टिमलाई स्ट्यान्डर चरणमा बराबरी गर्दै खेललाई टाईब्रेकरमा पुर्याएका थिए ।
टाइब्रेकरमा भक्तपुरका पुरुसोत्तम सिलवाल, विक्रम चोकामी, स्वर्णिम दुवाल र अभिक शाहले क्रमशः कोशीका प्रकाश चन्द्र नेपाल, सविन चन्द्र घिमिरे, मिसन दहाल र कृतिशारा अधिकारीमाथि जित निकाल्दै टिमलाई ४-० को जित दिलाउदै फाइनलमा पुर्याए ।
ललितपुरस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार बिहान ९ बजे शुरु हुनेछ । राष्ट्रिय स्तरका उत्कृट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको कूल पुरस्कार राशी ४ लाख ७० हजार रहेको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् ।