काठमाडौं । प्रदेशलाई फ्रेन्चाईज गर्दै फुटबलको प्रतियोगिता ‘नेपाल सुपर लिग’ सञ्चालन हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल स्पोर्टस एण्ड ईभेन्ट मेनेजमेन्टबीच प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा औपचारिक सम्झौता भएको छ ।
एन्फा अध्यक्ष शेर्पा र ईभेन्ट म्यानेजमेन्ट कम्पनीको अध्यक्ष निर्वाण चौधरीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
क्रिकेटमा विभिन्न फ्रेन्चाईज प्रतियोगिता हुँदै आएपनि फुटबलमा पहिलो पटक प्रदेशलाई फ्रेन्चाईज गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
देशको ठुलो ब्यापारिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी अध्यक्ष रहेको नेपाल स्पोर्टस एण्ड ईभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको व्यवस्थापन पक्ष सम्हाल्नेछ । एन्फाले प्रतियोगिताको प्राविधिक पक्ष हेर्नेछ ।
फुटबलमा नयाँ ईतिहास बनाउन प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउँदै ईभेन्ट म्यानेजमेन्ट कम्पनीका अध्यक्ष चौधरीले फुटबललाई अर्को तहमा लैजाने प्रयास स्वरुप फ्रेन्चाईज प्रतियोगिता गर्न लागेको बताए ।
एन्फाका अनुसार लिगको टिमको नाम र तयारी र प्रायोजकहरु नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ ।
प्रतियोगिताका लागि एन्फाले १४ वटा ’ए’ डिभिजन क्लबका १४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई समान रुपले वितरण गर्नेछ । प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जसमा २१ लिग खेल र प्ले अफ गरि कुल २५ खेल हुनेछ । टिममा विदेशी खेलाडी समेत सहभागी हुन पाउनेछन् ।
प्रतियोगिताको आर्थिक पक्ष टुङ्गयाउन बाँकी रहेको बताउदै एन्फा अध्यक्ष शेर्पाले रोयल्टीको बिषयमा छलफल भईरहेको बताए ।
‘रोयल्टी लिने कि सेयर लिने भन्ने बिषयमा छलफल चलिरहेको छ । आगामी कार्यसमिति बैठकले निर्णय गर्नेछ ।’ उनले भने ।
फ्रेन्चाईज लिग बैशाख र जेठ महिनामा आयोजना गरिने एन्फा अध्यक्ष शेर्पाले बताए । प्रतियोगितालाई समावेश गरेर एन्फाले चाँडै बार्षिक क्यालेन्डर समेत प्रकाशन गर्नेछ ।
यस्तै एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टकै व्यबस्थापनमा बिद्यालय स्तरीय लिग आयोजना गर्ने समेत जनाएको छ । बिद्यालय लिगमा ११ टिम छनोट गरेर ५५ खेल आयोजना गर्ने एन्फाले जनाएको छ । विद्यालय लिग करिब ६ महिना सञ्चालन गरिने छ ।
‘प्रतियोगिता सञ्चालन गर्ने बाहेक नाफा कमाउने उद्वेश्य छैन । जति फाईदा हुन्छ त्यसलाई फुटबलमै लगानी गर्ने हाम्रो उद्वेश्य छ ।’ ईभेन्ट कम्पनीका अध्यक्ष चौधरीले थपे ।