काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वकाे कार्यसमितिले पछिल्लो ९ महिनामा विभिन्न किसिमको आर्थिक अनियमितता, अपारदर्शीता र गलत क्रियाकलाप गरेको आरोप चार जिल्ला फुटबल संघले लगाएका छन् ।
सोमबार काठमाडाैमा पत्रकार सम्मेलन गर्दै चार जिल्ला फुटबल संघले एन्फा नेतृत्वविरुद्द १४ बुँदे आरोप लगाएकाे हाे ।
पत्रकार सम्मेलनमा काठमाण्डौं जिल्ला फुटबल संघका अध्यक्ष विराट जंग शाही, भक्तपुरका गौतम सुजखु, धादिङका दिपक खतिवडा र ललितपुरका पुरुषोतम थापा उपस्थिती रहेकाे थियाे ।
उनीहरुले लगाएकाे १४ बुँदे आरोप निम्न प्रकारकाे रहेकाे छ ।
१। विदेशी नागरिक नविन पाण्डेलाई फिफा कांग्रेसमा नेपालको प्रतिनिधि बनाएको ।
२। फिफा विश्वकपको टिकट वितरणमा पारदर्शीता नभएको ।
३। आर्थिक नियमावली साधारण सभाबाट पारित भएपनि कार्यान्वयन नभएको ।
४। नेपालमा पहिलो पटक रेलिगेशन बिनाको लिग गरेको ।
५। जथाभावी भत्ता वितरण गरेको ।
६। फिफाबाट प्राप्त ३ करोडलाई भवन निर्माणको नाममा अपारदर्शी ढंगले खर्च गरेको ।
७। प्रतियोगिता आयोजना गर्दा एएफसीसंग बढी रकम माग गरेर होटेलसंग आन्तरिक सम्झौता गरि रकम घोटाला गरेको ।
८। साफमा सहभागि टिमलाई होटल बस्दा रकम हिनामिना गरेको ।
९। एन्फा र होटेल भ्यु भृकुटी गोदावारीबाट आएको रकम जथाभावी हिनामिना गरेको ।
१०। फिफाद्वारा बेलायतमा सञ्चालित सेमिनारमा अनावश्यक व्यक्तिलाई सहभागि गराएको ।
११। बिज्ञानराज शर्मा र राजिव पौडेललाई एएफसीको कमिटिमा अपारदर्शी ढंगले सिफारिस गरेको ।
१२। फिफा रेफ्रीलाई बैंकक सेमिनारमा सहभागि नगराई अपमानजनक ढंगले फिर्ता बोलाएको ।
१३। रौतहटमा महिला टेक्निकल सेन्टर अपारदर्शी ढंगले काम अघि बढाएको ।
१४। एन्फाद्वारा सञ्चालिन प्रतियोगिता गर्न सम्बन्धित संघलाई नभएर व्यक्तिगत नाममा दिएर सञ्चालन गरेको ।
पत्रकार सम्मेलनमा बोल्दै धादिङ फुटबल संघका अध्यक्ष दिपक खतिवडाले परिवर्तनको नारा सहित नेतृत्वमा आएको वर्तमान कार्यसमितिले अपारदर्शी ढंगको कार्यशैली अपनाएको आरोप लगाए । एन्फा नेतृत्वको कार्यशैलीप्रति असहमती जनाउँदै पछिल्लो समय चार जिल्ला फुटबल संघले विरोध गर्दै आएका छन् ।
उनीहरुले यसअघि पत्रकार सम्मेलन गरेर एन्फा निर्वाचनमा व्यापक अनियमितता भएको दाबी गर्दै अडियो टेप सार्वजनीक गरेका थिए ।