काठमाडौं । एसियाली खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५ दशमलव ०६ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान् भंग गरेका हुन् ।
गोपीले ३० मिनेट ३० दशमलव ९९ सेकेन्डको कीर्तिमान बनाएका थिए । दीपक ९ वर्षपछि सो कीर्तिमान् तोड्न सफल भए ।
एसियाडमा दीपक नयाँ राष्ट्रिय कीर्तिमान बनाउने एक नेपाली खेलाडी समेत बनेका छन् ।