काठमाडौं । हाङझाव एसियाडको जुडोमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार दुई खेलाडीको पराजयसंगै जुडोमा नेपालको यात्रा टुंगिएको हो ।
जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वाटरफाइनलमा काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।
महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासंग इप्पोनकै आधारमा हारिन् । प्रिक्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन् ।
जुडोमा नेपालबाट समान ४–४ पुरुष-महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए ।
महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो । सहभागी मध्ये विकासले मात्र एक ‘बाउट’ जिते ।
उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।