काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारण सभा शुक्रबार काठमाडौंमा सुरु भएको छ । नयाँ नेतृत्वका लागि सुरु साधारण सभाले शनिबार नयाँ नेतृत्व सहित कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्कासँग गठबन्धन बनाएका छन् । अध्यक्ष चन्दले सचिवमा पारसलाई राखेर नयाँ टिम निर्माणको गृहकार्यलाई अन्तिम चरणमा पुर्याएका छन् ।
चन्द र पारसले आफ्नो प्यानलमा कोषाध्यक्षमा पदम खड्काको नाम टुङ्गो लगाएको छन् । उपाध्यक्षका लागि आन्तरिक गृहकार्य भैरहेको छ ।
काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवकर घलेले उपाध्यक्षमा इच्छा देखाएका छन् । तर चन्द पक्षले सहमतीमा नयाँ कार्यसमिति बनाउने गरि कोषाध्यक्ष रोशन बहादुर सिंह र पूर्व सचिव प्रशान्त मल्लसँग छलफल गरिरहेको छ ।
चन्दले सिंहलाई उपाध्यक्षमा बसेर सहमतीमा नयाँ कार्यसमिति गठनका लागि प्रस्ताव गरेका छन् । तर अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका सिंह उपाध्यक्षमा बस्न मानिरहेका छैनन् । उनले अध्यक्षमा उठ्ने समेत हिम्मत देखाउन सकेका छैनन् । सोही कारण सिंहको पछि लाग्ने अधिकांश नेताहरु बिचल्लीको अवस्थामा छन् ।
बिनयराज भण्डारीलाई अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लगाएर सिंह पक्षले माहोल जाँच्न खोजेको छ तर चतुर र पारसको नयाँ गठबन्धनका अघि क्रिकेटका अधिकांश पुराना खेलाडी छायाँमा पर्ने देखिन्छ । चन्द आफ्नो दोस्रो तथा अन्तिम कार्यकाल पारसलाई लिएर क्रिकेटमा नयाँ प्रयोग गर्न खोजेका छन् ।
चन्दसँग मिलेर आफ्ना पक्षका केही नेतालाई सेटल गर्ने कि प्यानल खडा गरेर चुनावबाट सबै गुमाउने भन्ने निर्क्योल सिंह र मल्ल पक्षले गरिसकेको छैन ।
क्यानको नयाँ पिक्चरमा पारसलाई हेर्न चाहने पब्लिक सेन्टिमेन्ट मात्र हैन, सरकार सहित कांग्रेस, माओवादीको शीर्ष नेताहरुको बलियो सद्भाव छ । सोही कारण क्रिकेटको बदलिदो राजनीतिमा पारसको उदय जबर्जस्त हुने देखिन्छ । सोही कारण पारसलाई लिएर चतुरले क्रिकेट संघको नयाँ कार्यसमितिको खाका बनाएका छन् ।
उद्घाटन सत्र सकिएकाले बन्द शत्र शुक्रबार सक्ने र शनिबार निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्ने क्यानको तयारी छ ।