काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा भ्रष्टाचार र आर्थिक अनियमितता भएको दाबी गर्दै चार जिल्ला फुटबल संघले अडियो टेप सार्वजनीक गरेका छन् ।
राजधानीमा बुधबार एक पत्रकार सम्मेलन गर्दै काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले निर्वाचनको क्रममा भएको आर्थिक लेनदेनको बिषयको अडियो टेप सार्वजनीक गरेका हुन् ।
चार जिल्लाले सार्वजनिक गरेको अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले लगायतका पदाधिकारीले चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेको कुराकानी समावेश छ ।
सम्मेलनमा काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका गौतम सुखजु, ललितपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाको उपस्थिति रहेको थियो ।
यस्तै चार जिल्लाले उक्त अडियो फिफा र एसियाली फुटबल महासंघ (एएफसी) लाई उपलब्ध गराउने बताएका छन् ।
एन्फाको नयाँ कार्यसमितिको निर्वाचन गत बैशाखमा सम्पन्न भएको थियो । सो निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्ष चुनिएका थिए ।
सो निर्वाचनमा व्यापक आर्थिक अनियमितता भएको दाबी गर्दै यसअघि एन्फाका पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
बुधबारको पत्रकार सम्मेलनमा पुर्व वरिष्ठ उपाध्यक्ष कुँवर भने अनुपस्थित थिए ।