काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले फुटबलको फ्रेन्चाईज लिग सूरु गर्ने भएको छ । 'ए' डिभिजन लिगसंगै प्रदेश र राष्ट्रिय लिग अघि बढाउने तयारी गरेको एन्फाले फ्रेन्चाईज लिगलाई समेत सञ्चालनमा ल्याउने निष्कर्श निकालेको हो ।
‘फुटबलको फ्रेन्चाईज लिग सञ्चालन गर्ने बिषयमा सामान्य छलफल अघि बढेको छ । चाँडै यो बिषयमा निर्णयमा पुगिनेछ ।’ एन्फा प्रवक्ता किरण राईले खेलपाटीसंग भने ।
प्रवक्ता राईले एन्फाको अहिलेको ध्यान घरेलु लिगमा केन्द्रित रहेको बताउँदै फ्रेन्चाईजको बिषयमा समेत छलफल अघि बढेको प्रष्ट पारे । एन्फा स्रोतका अनुसार दुई कम्पनी नेपालमा फ्रेन्चाईज लिग गर्न फुटबल संघसंग प्रस्ताव गरेका छन् ।
देशको ठुलो व्यापारिक घराना चौधरी ग्रुप र एक खेल ब्यवस्थापन कम्पनीले फ्रेन्चाईजको बिषयमा एन्फासंग निरन्तर छलफल अघि बढाएको छ । ’रोयल्टीको बिषयमा कुराकानी भईरहेको छ । चाँडै टुङ्गोमा पुग्ने तयारी छ ।’ स्रोतले भन्यो ।
एन्फाले चाँडै शहर र प्रदेश मध्य एकलाई फ्रेन्चाईज गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।
आगामी जनवरीभित्र फ्रेन्चाईज प्रतियाेगिता सञ्चालन गर्ने कम्पनीसंग औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने एन्फाको तयारी छ ।