काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गर्ने बर्ष खेलाडी सम्मान कार्यक्रमसंग आदर्श समाज विकास केन्द्रले सहकार्य गरेको छ ।
संघले प्रत्येक बर्ष आयोजना गर्ने खेलाडी सम्मान कार्यक्रमलाई आदर्श समाजले बार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउने गरि सहकार्य गरेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा मंगलबार आयोजित कार्यक्रममा संघका अध्यक्ष दिपक श्रेष्ठ र केन्द्रकी प्रतिनिधि सपना लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अवार्ड कार्यक्रमलाई केन्द्रले बर्षिक १ लाख रुपैयाँ उपलब्ध गराउनेछ । सम्झौताको अवधि तीन बर्षको हुनेछ । संघले सो रकम एन एन आई पि ए पत्रकारिता पुरस्कार र कार्यक्रम व्यवस्थापनमा खर्च गर्नेछ ।
यसअघि, संघले दुई सर्वोकृष्ट खेलाडीले प्रदान गर्ने जनही एक लाख रुपैयाँमा जनता बैंकले प्रायोजन गरेको थियो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिपक श्रेष्ठले नयाँ पिढीका लागि केन्द्रको सहयोग प्रोत्साहनको बिषय भएको बताए । ‘यो सहयोग सहि ठाउँमा सदुपयोग हुनेछ । प्रायोजनहरु खेलकुदमा आउनु भनेको सकरात्मक हो ।’ उनले थपे ।