काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायक सञ्जीव नेपाली अमेरिकामा विशेष सम्मानबाट सम्मानित भएका छन् ।
खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै अमेरिकाको द सिनेट अफ मेरील्यान्ड र न्यु जर्सी सिटीले उनलाई विशेष सम्मान गरेको हो । उनलाई द सिनेट अफ मेरील्यान्डका काथरिन क्यासमियर र न्यु जर्सी सिटीका काउन्सिल प्रेसिडेन्ट जोयस वाटरम्यानले सम्मान गरेका हुन् ।
अमेरिका बसाइका क्रममा तेक्वान्दो खेलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै आफूलाई सो सम्मान प्रदान गरेको सञ्जीवले बताए ।
‘अमेरिका बसाइँका क्रममा विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल रेफ्रीजर्ज र प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएको छु ।’ सञ्जीवले भने, ‘त्यही योगदानको कदर गर्दै दुवै संस्थाले सम्मान गरेका हुन् ।’
प्राप्त सम्मान आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो भएको सञ्जीवले बताए । बारा निजगढका सञ्जीवले तेक्वान्दोका माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झण्डा फहराउँदै आएका छन् ।
लामो समय तेक्वान्दोमै बिताएका सञ्जीवले आफूले सकुँञ्जेल तेक्वान्दोकै विकास र विस्तारमा समर्पित हुने योजना बनाएका छन् । उनले हङकङ, थाइल्यान्ड, इङ्ल्यान्ड, स्पेन, जापान, क्यानडा, अमेरिका लगायतका मुलुकमा पुगेर विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै पदक पनि जितेका छन् ।