काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला साफ च्याम्पियनसिपको तयारी अघि बढाएको छ । फागुनको अन्तिम साता विराटनगरमा सुरु हुने प्रतियोगिताका लागि एन्फाले उपाध्यक्ष पंकज नेम्वाङको नेतृत्वमा तयारी समिति गठन गरिसकेको छ ।
प्रतियोगिताको तयारी अघि बढाउन नेम्वाङ नेतृत्वको तयारी समितिले दुई उपसमिति समेत गठन गरेको छ ।
प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाले सहायक महासचिव बसन्त अर्यालको नेतृत्वमा सचिवालय व्यवस्थापन उपसमिति र मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमालको नेतृत्वमा मर्मम सम्भार तथा व्यवस्थापन उपसमिति गठन गरेको छ ।
प्रतियोगिताको तयारी समितिले शुक्रबार बिहान विराटनगरका मेयर भिम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेश केसी र प्रहरी प्रमुख मनोष केसीसंग अन्तरक्रिया समेत गरेको छ ।
छलफलमा क्रममा समितिले प्रतियोगिताका लागि आवश्यक पर्ने खेल मैदानको मर्मत सम्भार तथा भौतिक पुर्वाधार निर्माणमा स्थानीय सरकारको सहयोगको आग्रह गरेको थियो । समिति संयोजक नेम्वाङले मैदान वरपर र होटलसम्मको बाटो पिचा गर्न मेयर पराजुलीलाई आग्रह गरेका थिए ।
छलफलमा भाग लिदै मेयर पराजुलीले प्रतियोगिता आयोजनमा स्थानीय सरकारले सक्दो सहयोग गर्ने आश्वसन दिएका थिए । उनले पुर्वाधार निर्माणमा नगरपालिकको सम्पुर्ण स्रोत साधन परिचालन गर्न आफु तयार रहेको बताएका थिए ।
समिति संयोजक नेम्वाङले प्रतियोगिताका लागि आवश्यक पर्ने बसोबास, शान्ति सुरक्षा तथा पुर्वाधार निर्माणमा स्थानीय जनप्रतिनिधिसंग छलफल गरिएको खेलपाटीलाई बताए ।
बैठकमा प्रवक्ता किरण राई, दावा लामा, निरज खड्की, शिक्षित पराजुली, दिपक राई, रुपेश अधिकारी लगायतका एन्फा पदाधिकारी सहभागि थिए ।
साफ च्याम्पियनसिप फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुदैछ ।