काठमाडौं । हरिहजुर थापा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् ।
नेपाल भलिबल संघले किर्गिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि सेटर हरिहजुरलाई कप्तान नियुक्त गरेको हो ।
ईम राना मगरको अनुपस्थितिमा संघले हरिहजुरलाई कप्तान चयन गरेको हो ।
काभा नेसन्स लिग खेल्ने टोलीमा ईम अटाएका छैनन् ।
अब नेपालले हरिहजुरको कप्तानीमा नेसन्स लिग खेल्ने छन् ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हरिहजुर पुरुष भलिबल टोलीको १० औं कप्तान हुन् । उनले आर्मीको कप्तानी समेत गरिसकेका छन् ।
हरिहजुर २०१५ बाट नेपाली टोलीको नियमित सदस्य हुन् ।
काभा पुरुष भलिबल नेसन्स लिग खेल्न नेपाली टोली शुक्रबार बिहान किर्गिस्तान प्रस्थान गरेकाछन् ।
नेपाली टोलीलाई नेपाल भलिबल संघले बिहीबार नै बिदाइ गरेको थियो ।
काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।
नेपाली टोली -
हरि हजुर थापा (कप्तान), लोकेन्द्र राज गिरी, मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक, धन बहादुर भट्ट क्षेत्री, हेमन्त बहादुर मल्ल र भीम बहादुर गाहा