काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारबाट सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीचको खेलसँगै यस सिजनको लिग सकिएको हो ।
डबल राउण्ड रोबिनको आधारमा भएको लिगको अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई १-० ले हराएको छ ।
यस सिजनको लिगको उपाधि चर्च ब्वाइज युनाईटेडले जितेको छ । चर्च ब्वाइजले डेब्यु सिजनमै लिगको उपाधि जितेको हो ।
यस्तै एफसी खुमलटार र विभागीय टोली एपीएफ क्लब रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा घटुवा भएको छ ।
कसले कति पाए ?
लिगको उपाधिसँगै चर्च ब्वाइजले ७५ लाख नगद प्राप्त गरेको छ ।
दोस्रो स्थान हासिल गरेको मछिन्द्र फुटबल क्लबले ५० लाख प्राप्त गरेको छ ।
नेपाल पुलिस क्लबले तेस्रो हुँदै २५ लाख रुपैयाँ पाएको छ ।
फेयर प्ले टोली नेपाल पुलिस क्लबले ३ लाख प्राप्त गरेको छ ।
यस्तै चर्च ब्वाइज युनाईटेड क्लबका कप्तान अनन्त तामाङ मोस्ट भ्यालुएबल प्लेयर हुँदै नगद ३ लाख प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता बनेका मछिन्द्र फुटबल क्लबका आफिज ओलावाले २ लाख प्राप्त गरे ।
सर्वोत्कृष्ट गोलकिपर बनेका चर्च ब्वाइजका प्रिसोले २ लाख प्राप्त गरे ।
थ्री स्टार क्लबका लाकेन लिम्बुले इमर्जिङ प्लेयर घोषित हुँदै १ लाख ५० हजार प्राप्त गरे ।