काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब एफसी खुमलटारले रेलिगेसन क्षेत्रमा रहेका टोलीहरुबीचको खेल एकै समयमा नभए लिगको अन्तिम खेल नखेल्ने घोषणा गरेको छ ।
खुमलटारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै रेलिगेसन क्षेत्रमा रहेका टोलीहरुबीचको खेल एकै समयमा हुनुपर्ने माग गरेको छ ।
आफुहरुको मागलाई सम्बोधन नगरे लिगको अन्तिम खेल नखेल्ने खुमलटारले घोषणा गरेको छ ।
'ए' डिभिजन फुटबल लिग प्रतियोगिताको अन्तिम खेल रेलिगेसनका लागि लडिरहेका टोलीहरुको खेल 'फिफा फेयर प्ले' अनुसार एकै दिन एकै समयमा खेलाउन माग गर्दै पत्राचार गरिए पनि अहिले सम्म त्यसको जवाफ नआएकाले नेपाली फुटबलको संरक्षक (एन्फा) नै स्वच्छ खेल होस भन्ने चाहनामा नभएको अनुभुती हामीलाई भयो । त्यसैले लिगको अन्तिम खेल नखेल्ने जानकारी यसै पत्रमार्फत दिन चाहन्छौ,’ खुमलटारले एन्फालाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।
खुमलटारले आज शुक्रबार अन्तिम खेलमा चर्च ब्वाइज युनाईटेडसँग खेल्ने तालिका रहेको छ ।
खुमलटार २५ खेलमा २७ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट जोगिन खुमलटारलाई जित्नैपर्ने दबाब छ ।
चर्च ब्वाइज भने एक खेल अगाबै च्याम्पियन बनिसकेको छ । चर्च २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
शुक्रबार नै रेलिगेसन क्षेत्रको एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै रेलिगेसन क्षेत्रको अर्को टोली थ्री स्टारको खेल भने शनिबार रहेको छ । थ्री स्टारले अन्तिम खेलमा जावलाखेलको सामना गर्नेछ ।