काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एफसी खुमलटारले जित निकालेको छ ।
च्यासलमा मंगलबार भएको खेलमा खुमलटारले एपीएफ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । स्टेफेन बिनोङले एक गोल थपे ।
एपीएफका सनिश श्रेष्ठले एक गोल फर्काए ।
खेलको १३ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-० को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा स्टेफेनले गोल गर्दै खुमलटारलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा एपीएफका सनिशले गोल गरेपनि खुमलटार ३-१ ले विजयी भयो ।
खुमलटारको यो आठौं जित हो ।
जितसँगै खुमलटारले २५ खेलमा २७ अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ ।
एपीएफ २५ खेलमा ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।