काठमाडौं । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।
चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो । यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनि चर्च ब्वाइज च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएको थियो। तर, दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको १६ औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बु गोल गर्न चुके । चर्च ब्वाइजका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा सिक्स यार्ड बक्स भित्रबाट लाकेनको फितलो प्रहार गोलकिपर प्रिसोले बचाए ।
खेलको १७ औं मिनेटमा चर्च ब्वाइजका अन्जन विष्टको क्रसमा आशिष चौधरीको हेडर थ्री स्टारका गोलकिपर अरुण ब्लोनले उत्कृष्ट बचाऊ गरे ।
२१ औं मिनेटमा थ्री स्टारका मार्टिन अजयीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका अन्जन विष्टको फ्रिकिक थ्री स्टारका गोलकिपर अरुणले बचाए ।
लगत्तै ३७ औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा चर्च ब्वाइजका अनन्त तामाङको हेडर प्रहार पनि थ्री स्टारका गोलकिपर अरुणले उत्कृष्ट बचाऊ गरे ।
चर्च ब्वाइजले 'ए' डिभिजन लिगमा बढुवा भएकै सिजन 'ए' डिभिजन लिगको उपाधि जितेको हो ।
चर्च ब्वाइजले 'बी' लिगबाट बढुवा भएकै सिजन 'ए' डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको छ ।
मनाङले २०४२ सालमा 'बी' लिग र ०४३ सालमा 'ए' डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो । ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानमा बराबरी गरेको हो ।
यस्तै बाल गोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइज लिगको एक खेल बाँकी रहदै उपाधिमा कब्जा जमाएको छ ।
नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक महर्जनले प्रशिक्षकको रुपमा पहिलो पटक 'ए' डिभिजन लिगको उपाधि जितेका हुन् ।
खेलाडीको रुपमा महर्जनले थ्री स्टारबाट एक पटक लिगको उपाधि जितेका थिए ।
चर्च ब्वाइजको यो १३ औं जित हो । चर्च ब्वाइज २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ ।
मछिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ ।
थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
थ्री स्टारलाई रेलिगेसनबाट जोगिन अन्तिम खेल महत्वपूर्ण रहेको छ ।