काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार फ्रेन्ड्स र मनाङले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि निराजन धामीले गोल गरे । फ्रेन्ड्सका अमित तामाङले गोल गरे ।
खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो ।
खेलको ५२ औं मिनेटमा निराजनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
विजय श्रेष्ठको कर्नरमा निराजनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
तर,खेलको ८६ औं मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
मनाङका चेतन कुमार थारुले पेनाल्टी क्षेत्रमा उत्तम राईलाई फउल गर्दै लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।
यस बराबरीसँगै फ्रेन्ड्सले २४ खेलमा २६ अंक जोडेको छ ।
मनाङले २४ खेलमा ३२ अंक जोडेको छ ।