काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले उपाधि दाबेदार मछिन्द्र फुटबल क्लबलाई हराएको छ ।
च्यासल मैदानमा आइतबार पुलिसले मछिन्द्रलाई २-१ गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा मोसेस ग्याबाह त्वामले दुई गोल गरे ।
मछिन्द्रका आफिज ओलावालेले एक गोल गरे ।
पुलिसले एक गोलको अग्रता उल्टाएर मछिन्द्रलाई हराएको हो ।
खेलको २७ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ७५ औं मिनेटमा मोसेसले फ्रिकिक मार्फत गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा मोसेसले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए ।
पुलिसको यो ११ औं जित हो ।
पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस हारले मछिन्द्रको उपाधि होडमा धक्का पुगेको छ ।
मछिन्द्र २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।