काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजको जितमा आशिष चौधरीले दुई र अन्जन विष्टले एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।
जावलाखेलका डिफेन्डर राहुल राहुलले रंजित सिंह पान्द्रेलाई पेनाल्टी क्षेत्रमा लडाएपछि चर्च ब्वाइजले पेनाल्टीको अवसर पाएको थियो ।
तर, अन्जनको पेनाल्टी जवालाखेलका गोलकिपर ईश्वर गुरुङले बचाए । त्यहि रिबाउन्ड बलमा अन्जनले गोल गरे ।
खेलको ८८ औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाए ।
कमल श्रेष्ठको क्रसमा आशिषले हेडरमार्फत सहजै गोल गरे ।
त्यसपछि खेलको इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३-० को जित दिलाए ।
चर्च ब्वाइजको यो १२ औं जित हो ।
जितसँगै चर्च ब्वाइजले २४ खेलमा ४४ अंक जोडेको छ ।
चर्च ब्वाइज दोस्रो स्थानको मछिन्द्र भन्दा ५ अंकले अघि रहेको छ ।
जावलाखेल २४ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।