काठमाडौं । कालो पट्टी बाधेर लिगको बाँकी खेल खेल्ने ए डिभिजन क्लबको निर्णयलाई अखिल नेपाल फुटबल संघ एन्फाले चेतावनी दिएको छ । शुक्रबार ए डिभिजन लिगका क्लबका पत्र लेख्दै एन्फाले खेल दौरान कालो पट्टी बाधेर विरोध प्रर्दशन गर्ने कार्य अनुशासन हिन रहने उल्लेख गर्दै क्लबको विरोधले अनुशासनको निर्देशिका आकर्षित हुने चेतावनी दिएको हो ।
महसचिव किरण राईले खेलाडीको सन्दर्भ र आर्थिक कारण देखाएर संघमा आबद्ध सदस्य संस्थाले खेल दौरान कालो पट्टी बाधि विरोध प्रर्दशन गर्ने जस्तो अवान्छीत, अशोभनीय र अनुशासन हिन कार्य गर्दा फुटबल खेलको सुन्दर पक्षलाईनै प्रत्यक्ष असर पर्ने र अनुशासनिक निर्देशिकाहरु आकर्षित हुने हुदाँ यस्तो कार्य नगर्न÷नगराउन भन्दै निर्देशन जारी गरेका छन् ।
ए डिभिजनका क्लबले दोस्रो किस्ता वापतको रकम, म्याच मनी, म्याच बल, खेलाडीले पाउनुपर्ने रकम एन्फाले अहिलेसम्म नदिएको भन्दै विरोध स्वरुपम कालो पट्टी बाधेर लिगका बाँकी खेलमा सहभागी हुने निर्णय गरेका छन् । लिगको कमर्सियल, ब्रोडकास्टिङ, टिकेटिङ लगायतको रकमबाट दिईने तयारी खर्चको दोस्रो किस्ता र अन्य रकम आफुहरुले नपाएको क्लबहरुको गुनासो छ ।
एन्फा महासचिव राईले सो निर्णयबाट एन्फाको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै क्लबको बाँकी बक्यौता भुक्तानीका लागि आफुहरुले भरमग्दुर प्रयास गर्दै आएको बताएका छन् । केही समय अघि ए डिभिजन खेल्ने क्लबले पत्रकार सम्मेलन गरेर फुटबल सञ्चालनमा एन्फा जिम्मेवार नदेखिएको भन्दै आरोप लगाएका थिए ।