काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङले एफसी खुमलटारमाथि १-० गोलको रोमान्चक जित निकालेको हो ।
रोमान्चक बनेको खेलमा मनाङलाई जित दिलाउन रोशन राना मगरले निर्णायक गोल गरे ।
रोशनले खेलको इन्जुरी समयमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
यता, खुमलटारले खेल अवधिभर बलमा पकड जमाएको थियो । तर, खुमलटारले एक पेनाल्टीसहित थुप्रै गोलको अवसर गुमाएको थियो ।
खेलको ५५ औं मिनेटमा खुमलटारका एलन थापा पेनाल्टीमा गोल गर्न चुके ।
मनाङका रमेश थापाले पेनाल्टी क्षेत्रमा श्याम मुर्मुलाई फउल गर्दै लडाएपछि खुमलटारले पेनाल्टीको अवसर पाएको थियो ।
तर, एलनको पेनाल्टी मनाङका गोलकिपर तथा कप्तान दीप कार्कीले उत्कृष्ट बचाऊ गरे ।
५८ औं मिनेटमा खुमलटारका श्याम वान भर्सस वानमा गोल गर्न चुके । उनको प्रहार मनाङका गोलकिपर दीपले बचाए ।
खेलको ६५ औं मिनेटमा खुमलटारका राजिब लोप्चनको फ्लिक पोस्ट बारमा लाग्दै फर्किएको थियो ।
खेलको ७४ औं मिनेटमा मनाङका डिफेन्डर आशिष गुरुङले क्लियर गरेको बल आफ्नै पोस्ट बारमा लाग्दै फर्किएको थियो ।
मनाङको यो सातौं जित हो । मनाङले २३ खेलमा ३१ अंक जोडेको छ ।
मनाङ पाँचौं स्थानमा उक्लिएको छ ।
खुमलटार २३ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ ।