काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडले सहज जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार चर्च ब्वाइजले एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराएको हो ।
चर्च ब्वाइजको जितमा अनन्त तामाङले दुई गोल गरे । मौषम सुब्बा र आशिष चौधरीले एक एक गोल थपे ।
एपीएफका आवाश लामिछानेले एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा मौषमले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।
अनन्तले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा चर्च ब्वाइज २-० ले अघि रह्यो ।
खेलको ५५ औं मिनेटमा अनन्तले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।
खेलको ८३ औं मिनेटमा आवाशले गोल गर्दै एपीएफलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई ४-१ को जित दिलाए ।
चर्च ब्वाइजको यो ११ औं जित हो । चर्च ब्वाइजले २३ खेलमा ४१ अंक जोडेको छ ।
चर्च ब्वाइजले दोस्रो स्थानको जावलाखेल युथ क्लबविरुद्ध ४ अंकको अग्रता बनाएको छ ।
एपीएफ २३ खेलमा २९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।