काठमाडौं । श्रीलंकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार पाँचौं स्थानको लागि भएको खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
श्रीलंकाले २५-११, २५-२० र २५-१४ को सोझो सेटमा जित हात पार्यो । जितसँगै श्रीलंकाले पाँचौ तथा कीर्गिस्तानले छैटौं स्थान हासिल गरेका छन् । प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ ।
त्यस्तै शनिबार नै भएको खेलमा माल्दिभ्सले बंगलादेशलाई ३-१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पारेको छ ।
माल्दिभ्सले २१-२५, २५-१४, २५-२३ र २५-१५ ले हराउँदै सातौं स्थानमा अन्त्य गरेको हो । बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै बाहिरिएको छ ।
तेस्रो स्थानको लागि आइतबार नेपाल र उज्वेकस्तानबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र उज्वेकस्तानबीचको खेल बिहान साढे ११ मा हुनेछ ।
उपाधिको लागि भारत र काजकस्तानबीच दिउँसो ४ः१५ मा खेल हुनेछ ।