काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा टिमले उत्कृष्ट खेल पस्किएको बताएकी छन् ।
कप्तान अरुणाले फाइनल पुग्न नसके पनि टोलीको प्रदर्शनबाट खुशी रहेको बताईन् । उनले प्रतियोगितामा प्रदर्शन हेर्दा नेपालको स्तर बढेको दाबी गरिन् ।
'पहिलो सेटमा सर्भिस बिग्रियो, चौंथो सेटमा खेलाडी परिवर्तन हुँदा खेल्न सकेनौं । प्रतियोगिताबाट के सिक्यौ र हाम्रो स्तर कस्तो रह्यो त्यो म्याटर हुन्छ,' कप्तान अरुणाले भनिन्, 'पहिले भन्दा हाम्रो खेल परिवर्तन भएको छ । राम्रो भएको छ । फाइनल नपुगे पनि बेस्ट दिएका छौँ । टिमका सबै खेलाडीबाट खुशी छु । यो प्रदर्शन दिनु भनेको नेपालको खेलको स्तर माथि हुनु हो ।'
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा नेपाल काजकस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो । अब नेपालले उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि खेल्नेछ ।
यस्तै कप्तान अरुणाले नेपालले सर्भिस र ब्लकमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।
'डिफेन्स र रिसिभ राम्रो भएको छ । सर्भिस केहि बिग्रिएको छ । हाइटको कारण ब्लक कमजोर छ । सुधार गर्नुपर्छ,' उनले भनिन् ।
नेपालको मुख्य प्रशिक्षक जान डी ब्राण्डले पहिलो सेट नगुमाएको भए नेपालले खेल ३-० ले जित्ने बताए । उनले गल्ति गरेको कारण खेलमा हार व्यहोरेको बताए ।
'यदि हामीले पहिलो सेट जितेको भए हामीले ३-० ले जित्ने थियौं । तर, रिसिभमा गल्ति भयो । चौंथो र पाँचौ सेटमा धेरै गल्ति भयो,' उनले भने,'हामीले डिफेन्ड राम्रो गर्यौं । अट्याक गर्यौं । ब्लक गर्न सकेनौं । ब्लकमा कति अंक आयो ? हामीसँग अग्ला खेलाडी छैनन् । नेपालको यो वास्तविकता हो ।'