काठमाडौं । किर्गिस्तानले नेपालमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा माल्दिभ्समाथि जित दर्ता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहिबार भएको पहिलो प्लेअफ खेलमा किर्गिस्तानले माल्दिभ्समाथि जित दर्ता गरेको हो ।
किर्गिस्तानले माल्दिभ्सलाई ३-० को साझो सेटले पराजित गर्यो ।
किर्गिस्तानले माल्दिभ्सलाई २५-२०,२५-२० र २५-१५ ले हराएको हो । किर्गिस्तानले अब पाँचौ स्थानको लागि बिहिबार नै हुने श्रीलंका र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । पाँचौ स्थानका लागि शनिबार खेल हुनेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार नेपालले काजकिस्तानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल र काजकिस्तानबीचको खेल शुक्रबार अपरान्ह पाँच बजे हुनेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार नै उज्वेकिस्तान र भारतबीच पहिलो सेमिफाइनल खेल हुनेछ । उज्वेकिस्तान र भारतबीचको खेल शुक्रबार दिउँसो साँढे दुईमा हुनेछ ।
दुवै सेमिफाइनल विजेताका बिचमा आईतबार फाइनल खेल हुनेछ । नेपाल घरेलु कोर्टमा च्याम्पियनको ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।