काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकी स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई नगद २ लाख सहयोग प्राप्त भएको छ ।
सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवम् खेलकुद प्रेमी राजु लामाले बुधबार गाउँपालिकाको तर्फबाट काजललाई आर्थिक सहयोग प्रदान गरे ।
नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा आयोजना भएको एक कार्यक्रममा काजललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीले काजललाई नगद १५ हजार सहयोग गरे । उक्त अवसरमा अध्यक्ष लामाले खेलाडीहरुलाई हौसला प्रदान गर्ने मनसायले सो रकम सहयोग गरेको बताए ।
नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै स्थानीय निकायबाट नै स्वयम् जनप्रतिनिधिहरु उपस्थित भई यस प्रकारको सहयोग गर्दा खेलाडीहरुको हौसला हुने कुरा व्यक्त गर्दै अब गाउँपालिका तथा नगरपालिकाबाट समेत खेल क्षेत्र र खेलाडीहरुको उत्साह र प्रोत्साहनका लागि अनुरोध गरे ।
सिन्धुपाल्चोक जिल्लामा जन्मेर तेक्वान्दो खेललाई अंगाल्दैआईरहेकी राष्ट्रिय खेलाडी काजलले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो उत्कृष्ट प्रदर्शन र उपलब्धी हासिल गर्दै आईरहेकी छिन् ।
काजलले यहिँ जेठ १५ देखि २१ गतेसम्म अजरवैजानको बाकु शहरमा आयोजना हुने बाकु वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउदै छन् ।