काठमाडौं । काजकिस्तान सम्रह 'बी' को समूह विजेतको रुपमा नेपालमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितासेमिफाइनल प्रवेश गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा उज्वेकिस्तानलाई हराउदै काजकिस्तान समूह 'बी' को विजेता बनेको हो ।
पराजित उज्वेकिस्तान समूह 'बी' को उपविजेता बनेको छ । काजकिस्तानले समूह विजेता बन्ने क्रममा उज्वेकिस्तानलाई ३-१ सेटले हराएको हो ।
पहिलो सेट २४-२६ ले गुमाएको काजकिस्तानले त्यसपछिको तीन सेट लगातार जितेको हो । काजकिस्तानले २५-१६,२५-११ र २५-१८ ले लगातार तीन सेट जितेको थियो ।
यस जितसँगै काजकिस्तान ३ खेलमा ९ अंकका साथ समूह बिजेताको रुपमा सेमिफाइनल पुगेको छ । काजकिस्तानले शुक्रबार समूह 'ए' को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।
उज्वेकिस्तानले शुक्रबार नै फाइनल प्रवेसका लागि समूह 'ए' को विजेतासँग खेल्नेछ । नेपाल र भारतबीच ३ बजे पछि हुने खेलबाट समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
प्रतियोगिता अन्तर्गत बुधबार नै नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल दिउँसो तीन बजे हुनेछ ।
प्रतियोगिता अन्तर्गत बुधबारको अन्तिम खेलमा श्रीलंका र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।
समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।
राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।