काठमाडौं । किर्गिस्तानले नेपालमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सान्त्वना जित दर्ता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा बंगलादेशलाई हराउदै किर्गिस्तानले सान्त्वना जित दर्ता गरेको हो ।
यस जितसँगै किर्गिस्तानले प्रतियोगिताको समूह चरणको खेल सकाएको छ । बंगलादेशले भने जितबिहिन रुपमा समूह चरणको खेल सकाएको छ । दुवै टोलीले अब वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यस समूहबाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेका छन् । यस खेलमा किर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
किर्गिस्तानले बंगलादेशलाई २५-१६,२५-११ र २५-२० ले हराएको हो ।
जितसँगै समूह 'ए' मा रहेको किर्गिस्तानले ३ अंक सहित तेस्रो स्थानमा रहेर समूह चरणको खेल सकाएको छ । किर्गिस्तान पहिलो खेलमा घरेलु टोली नेपालसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
बंगलादेशको भने यो लगातार तेस्रो हार हो । सोमबार भएको आफ्नो पहिलो खेलमा बंगलादेश भारत र मंगलबार भएको दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।
प्रतियोगिता अन्तर्गत बुधबार नै नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल दिउँसो तीन बजे हुनेछ ।
प्रतियोगिता अन्तर्गत बुधबार नै उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।
समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।
राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।